सिद्धान्तकार प्रा.डा. अधिकारीको स्वर्ण जन्मोत्सवमा विशेष समारोह हुने
अमरराज नहर्की
काठमाडौँ वैशाख १७ गते ।
नेपालका प्रतिष्ठित सिद्धान्तकार, सञ्चारविद् एवं शिक्षाविद् प्रा. डा. निर्मलमणि अधिकारीको सम्मानमा आगामी जेठ १ गते राजधानीमा स्वर्ण जन्मोत्सव समारोह आयोजना गरिने भएको छ । शैक्षिक, सामाजिक-सांस्कृतिक, दार्शनिक तथा साहित्यिक क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै ‘स्वर्ण जन्मोत्सव मूल आयोजक समिति–२०८३’ ले विशेष कार्यक्रम गर्न लागेको हो । वि.सं. २०३३ साल जेठ १ गते तनहुँको छाङमा जन्मनुभएका अधिकारीले पाँच दशकको जीवनयात्रामा प्राज्ञिक क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गर्नुभएको छ । उहाँ नेपालबाट सञ्चार विधामा पहिलो विद्यावारिधि (पिएचडी), पहिलो पोस्टडक्टरेट गर्ने व्यक्तित्व हुनुहुन्छ । साथै, मिडिया स्टडिज् (सञ्चार विषय) मा नेपालकै पहिलो ‘प्रा.डा.’ हुने कीर्तिमान समेत उहाँको नाममा रहेको छ । अधिकारीद्वारा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ (Sadharanikaran Model), ‘राज्यराष्ट्र’, ‘स्थितिगत्यात्मक प्रगतिवाद’ र ‘सञ्चारयोग’ जस्ता सिद्धान्तहरूले अन्तर्राष्ट्रिय ख्याति पाएका छन् । उहाँले विकास गर्नुभएको सञ्चार सिद्धान्त हाल विश्वका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश भई पठनपाठन र अनुसन्धान हुँदै आएको छ । अधिकारीका हालसम्म नेपाली, अङ्ग्रेजी, संस्कृत, हिन्दी लगायतका विभिन्न भाषामा ६० भन्दा बढी पुस्तक र ८० भन्दा बढी अनुसन्धान लेखहरू प्रकाशित भइसकेका छन् । स्वर्ण जन्मोत्सव मूल समारोह समितिका संयोजक अरुण पौडेलका अनुसार जेठ १ गते शुक्रबारका दिन राष्ट्रिय नाचघर, जमलमा आयोजना हुने समारोहमा विभिन्न गोष्ठी, डकुमेन्ट्री प्रदर्शन, सांस्कृतिक कार्यक्रमका साथै डा. अधिकारीलाई विशेष सम्मान तथा अभिनन्दन गरिनेछ । उहाँको नेतृत्वदायी भूमिका र समाजप्रतिको योगदानलाई सम्मान गर्न समाजका विभिन्न तह र तप्काको प्रतिनिधित्व रहने गरी मूल आयोजक समिति गठन गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो । हाल काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका विभागीय प्रमुख रहनुभएका डा. अधिकारीले नेपालको प्राज्ञिक उचाइलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।