नुवाकोटमा दुइ दाजुभाइ हत्या प्रकरणमा आधा दर्जन व्यक्ति पक्राउ परेका छन् । म्यागङ गाउँपालिका–४, किम्ताङका ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमानको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई समातेको हो ।
स्थानीय धनबहादुर तामाङ भनिने धने र माइला भनिने सोमबहादुर तामाङसहितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । चार जना हिजै समातिएकोमा घटनाका मुख्य अभियुक्त धने र माइलालाई आज बिहान पौने ६ बजे धादिङको खनियाँबास गाउँपालिका–५, भिरवनबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
मंगलबार बिहान कुलो बनाउन भन्दै घरबाट निस्केका समराज र सूर्यमानको शव हिजो बिहान किम्ताङ खोलामा ढुंगाले खिचेर लुकाइएको अवस्थामा भेटिएको थियो । प्रहरीले दुवैको शव पोष्टमार्टमका निम्ति त्रिशुली अस्पताल पठाएको छ ।
प्रहरीका अनुसार पुरानो रिसिबिका कारण भरुवा बन्दुक प्रहार गरेर दाजुभाइको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले खुकुरी, तीन वटा भरुवा बन्दुक र एउटा मोटरसाइकल पनि बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।