लोक सेवा परीक्षामा इतिहास रच्दै।

ज्येष्ठ ६ गते बुधबार ।

__________ बिज्ञापन____________

काठमाडौं संवाददाता ।

__________ बिज्ञापन____________

३१ वर्षकै उमेरमा सहसचिव बनेर आरतीले रचिन् इतिहास: निजामती सेवाकै कान्छो सहसचिव!

काठमाडौं । आरती न्यौपानेले नेपाली निजामती सेवाको इतिहासमा सम्भवतः सबैभन्दा कम उमेरमा सहसचिव बन्ने नयाँ रेकर्ड कायम गरेकी छन्। लोक सेवा आयोगले नेपाल प्रशासन सेवा सहसचिव पदका लागि खुलाएको खुला महिला समूहतर्फ उनी सफल भएकी हुन्। २०५१ साल साउन २० गते जन्मेकी आरती मात्र ३१ वर्षको उमेरमा निजामती सेवाको नीति निर्माण तहमा पुग्न सफल भएकी हुन्।

यसअघि खुला प्रतिस्पर्धाबाट सबैभन्दा कम उमेरमा सहसचिव बन्ने रेकर्ड प्रदीप परियारको नाममा थियो, जो ३२ वर्षको उमेरमा सहसचिव बनेका थिए। त्यस्तै, आन्तरिक प्रतिस्पर्धाबाट सरिता दुवाली ३१ वर्षमै सहसचिव बनेकी थिइन्। तर, खुला महिला प्रतिस्पर्धाबाट यति सानो उमेरमा सहसचिव बन्ने आरती नै पहिलो भएको जानकारहरू बताउँछन्।

विद्यमान निजामती कानुन अनुसार अधिकृत स्तरमा प्रवेश गरेको सात वर्षपछि मात्र सहसचिवको प्रतिस्पर्धामा भाग लिन पाइन्छ। सामान्यतया २२–२३ वर्षको उमेरमा स्नातक तह पूरा हुने, त्यसलगत्तै अधिकृतमा नाम निकाल्ने र सात वर्ष पुग्नेबित्तिकै लिखित परीक्षा, समूह छलफल, केस स्टडी र प्रस्तुतीकरणजस्ता कठिन चरणहरू पार गरेर सहसचिव बन्नुलाई निकै दुर्लभ मानिन्छ।

आरतीले २०७५ सालमा प्रशासन सेवाको शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन्। सुरुवाती साढे तीन वर्ष सूर्यविनायक नगरपालिकामा अधिकृतका रूपमा काम गरेकी उनले त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब एक वर्ष कार्य अनुभव बटुलिन्। अधिकृतबाट सुरु भएको यात्राको पाँच वर्षमै अर्थात् २०८० सालमा उनी उपसचिव बनेकी थिइन् र हाल उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्।

शिक्षाको कुरा गर्दा आरतीले २०६९ सालमा प्लस टु र २०७३ सालमा स्नातक तह पूरा गरेकी हुन्। त्यसपछि उनी उच्च अध्ययनका लागि आफ्नै खर्चमा विदेश गएकी थिइन्। जेनेवा बिजनेस स्कुलबाट उनले ‘मास्टर्स इन इन्टरनेसनल म्यानेजमेन्ट’ गरेकी हुन्। विशेष कुरा त, उनी वैदेशिक अध्ययन बिदामा रहेकै बेला उपसचिवको परीक्षा दिएर उत्तीर्ण भएकी थिइन् र लिखित तथा अन्य चरण पार गरेपछि नेपाल फर्किएकी थिइन्।

आरतीका बुवा शिवराम न्यौपाने पनि सहसचिव पदबाटै अवकाश प्राप्त कर्मचारी हुन्। बुवाको इमान्दारी, सादा जीवनशैली र सार्वजनिक सेवाप्रतिको लगाव देखेर नै आफू निजामती सेवातर्फ आकर्षित भएको उनी बताउँछिन्। लोक सेवाको तयारी गर्ने निर्णय पनि बुवाकै सल्लाहमा भएको थियो। ‘एक पटक प्रयास गर’ भन्ने बुवाको सुझावपछि आवेदन दिएकी उनले पहिलो प्रयासमै शाखा अधिकृतमा नाम निकाल्न सफल भएकी थिइन्। उनका श्रीमान् अर्जुन अधिकारी पनि परराष्ट्र मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत छन्।

आफूलाई सामान्य जीवनशैली मनपर्ने बताउने आरती बुवाको सादा जीवनबाट धेरै कुरा सिकेको उल्लेख गर्छिन्। निजामती सेवामा अहिलेका सेवाग्राहीले छिटो सेवा मात्र नभई राम्रो व्यवहार पनि खोज्ने र कर्मचारीले सेवाग्राहीको भाव बुझ्नुपर्ने उनको बुझाइ छ। निजामती सेवामा उपसचिवसम्मको तहलाई सेवा प्रवाहको तह र सहसचिव तथा सचिव तहलाई नीति निर्माण तह मानिन्छ। सानै उमेरमा नीति निर्माण तहमा पुगेकी आरतीले विगतको अनुभव, नयाँ पुस्ताको चाहना र प्रविधिको उपयोगसँगै सेवा प्रवाहमा चुस्तता दिन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रेस प्रमुख ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
41 views
सम्बन्धित खबर
नहर्की सम्मानित ।
आजको राशिफल।
बिज्ञान पढ्ने रहर कसरी होला पूरा ?
भजन संस्कृतिको संरक्षणमा जोड दिदै गुरुकुल ।
भानु नगरपालिका ।
आजको राशिफल।
सरकारले नीति तथा कार्यक्रममा समेटेको डिजिटलाजेस ले के देशमा बिकास र निकास दिन्छ ?
देशको सामुदायिक बिद्यालय प्रति शिक्षक दोषी हुन?
ताजा खबर
नहर्की सम्मानित ।
लोक सेवा परीक्षामा इतिहास रच्दै।
बिज्ञान पढ्ने रहर कसरी होला पूरा ?
सरकारले नीति तथा कार्यक्रममा समेटेको डिजिटलाजेस ले के देशमा बिकास र निकास दिन्छ ?
पक्राउ परे नुवाकोटका हत्या आरोपित ।
जालपादेवी केबुलकार निर्माणकार्य तिव्र ।