बैशाख २९ गते मंगलबार ।
काठमाडौं संवाददाता ।
अधिकमास मान्नुको तात्पर्य
प्रा. डा. साम्बराज आचार्य
अधिकमास मान्दै नमाने हुँदैन ? अधिकमास किन मान्ने ? अधिकमास मान्नु पर्ने कारण के हो? इत्यादि अनेक थरी प्रश्न गर्ने मान्छे धेरै नै पाइन्छन् । मुसलमानहरु अधिकमास मान्दैनन्, किश्चियनहरु पनि अधिकमास मान्दैनन्, हिन्दूहरु मात्र अधिकमास मान्छन् यसको कारण के हो भनी प्रश्न गर्ने व्यक्ति पनि हाम्रो समाजमा धेरै नै पाइन्छन् । यी प्रश्नहरु को समुचित रुपमा उत्तर दिन सक्ने व्यक्ति पनि बिरलै पाइन थालेका छन् । कोही वेदमा नै अधिकमासको उल्लेख भएकाले र अधिकमासको चर्चा स्मृतिपुराणहरु मा पनि यत्र तत्र पाइनाले हामी परम्परावादी हिन्दूहरुले परम्परा धान्न मात्रै भए पनि अधिकमास मान्नैपर्छ छाड्न हुँदैन छाडेमा पाप लाग्छ भन्ने तर्क गर्छन् । तर यस्ता उत्तरले साधारण मान्छेको पनि चित्त बुझ्दैन । तसर्थ यस विषयमा युक्तियुक्त कारण खोज्नु परेको छ।
हामी वैदिक सनातनधर्मावलम्बीहरु को कालगणनामा मुख्य आधार सूर्य र चन्द्रमा नै हुन् । सूर्यको आधारमा सौरमान र चन्द्रमाको आधारमा चान्द्रमान हुने हो । यी दुइको सामञ्जस्यबाट पञ्चाङ्ग बनाइन्छन्, तर सूर्यको गति र चन्द्रमाको गति बराबर छैन । चन्द्रमाले २९ १ / २ सावनदिनजतिमा आफ्नो कक्षमा एक चक्कर लगाइसक्ने र त्यसलाई मास (महिना) भन्ने चलन प्राचीन ऋषिमहर्षिहरु ले चलाए । सूर्यलाई एक चक्कर लगाउन ३६५ सावनदिन चानचुन लाग्छ, त्यसलाई सौरवर्ष भन्ने चलन चल्यो । ३६५ सावनदिन चानचुनको सौरवर्षको १२ भागको एक भागलाई सौरमास भन्ने चलन पनि प्राचीन आचार्यहरु ले चलाए । त्यो मध्यममानले ३० सावनदिनभन्दा केही बढीको हुन्छ, तसर्थ सौरमास र चान्द्रमासका सावनदिनमा ५४ घडी २७ पलाजतिको अन्तर एक महिनामै पर्छ । अर्थात् कुनैवेला सौर सङ्कान्ति र अमावास्या एकै दिन एकै समयमा पय भने अर्को अमावास्या दोस्रो सङ्क्रान्ति शुरु हुनुभन्दा ५४।२७ ३१ । ५२।३० घट्यादि पहिले नै समाप्त हुन्छ र एक चान्द्रमास पूरा भई दोस्रो चान्द्रमास शुरु हुन्छ, त्यसै गरी दोस्रो मासको अन्त्यमा ५४।२७|३१।५२।३० को दोब्बर अन्तर पर्छ, तेस्रोमा त्रिगुणित अन्तरले सौरमास अगाडि बढ्दै जान्छ । यसै गरी ४, ५ आदि महिनामा पनि ४,५ गुना अन्तर पर्दै जान्छ र एक सौर वर्षमा अर्थात् १२ सौरमहीनामा सौरचान्द्रान्तर एक महीनामा पर्ने अन्तरको १२ गुनाले बढ्छ । अर्थात् १२४ (५४।२७|३१।५२।३० ) = १० सावन दिन र ५४ घडी जतिको अन्तर पर्छ । अतः ३ वर्षमा ३(१०।५४ ) ३२ सावन दिन र ४२ घडीको अन्तर पर्न जान्छ अर्थात् १ चान्द्रमहिना ( २९ १ / २ ) भन्दा पनि बढी फरक पर्न जान्छ । तसर्थ त्यो बढी भएको चान्द्रमानअनुसारको महिनालाई अधिकमास भन्ने चलन चलेको हो । यो गणितीय आधारमा निर्धारण गरिएको विषय हो । त्यो गणित पनि सूर्य चन्द्रको प्राकृतिक रुपमा रहेको स्थिति (position) अनुरुपको हो । मानिसले स्वेच्छाले कल्पना गरेको होइन । यो गणना मध्यममानले गरेको हो
स्पष्टमानको हिसाबले भन्ने हो भने २८ महीनादेखि ३६ महीनाभित्रमा एक अधिकमास पर्छ । यस्तो चान्द्रमास र सौरमासको अन्तररुप अधिकमासलाई छाडिदिने हो भने पुगनपुग ३३ वर्षमा एक चान्द्रवर्षकै अन्तर पर्छ र अनर्थ हुन्छ । तसर्थ ३ वर्षको अन्तरालमा पर्ने अधिकमासलाई मिलान गर्नैपर्छ । नमिलाएमा सौरमानसँग चान्द्रमानको सामञ्जस्य रहँदैन । तसर्थ यस किसिमको विकृतिलाई मिलाउन अधिमास मान्न परेको हो । सौरमान मात्र लिने वा चान्द्रमान मात्र लिनेहरु का लागि भने अधिकमासको झमेला पर्दै पर्दैन । त्यसैले गर्दा किश्चियनहरु जो चान्द्रमान व्यवहारमा ल्याउँदैनन् सौरमानलाई मात्र व्यवहारमा ल्याउँछन् तिनीहरु को लागि र चान्द्रमानमात्र लिने मुसलमानहरु को लागि अधिकमास मान्न नपरेको हो । हाम्रा पञ्चाङ्गहरु धार्मिक कृत्यहरु को लागि र व्यवहारको लागि पनि अति आवश्यक हुन्छन् । तसर्थ सौरमान र चान्द्रमान दुवै प्रयुक्त हुने हाम्रा पञ्चाङ्ग अंग्रेजी क्यालेण्डरभन्दा धेरै फरक छन् । तसर्थ भन्न सकिन्छ कि सौरमान र चान्द्रमानमा सामञ्जस्य जे गर्दा रहन्छ त्यो गर्न हुन्छ, गर्नुपर्छ । अधिकमास छाड्दा सामञ्जस्य रहने भए छाड्ने र लिँदा सामञ्जस्य रहने भए लिन पनि हुन्छ लिनैपर्छ । अधिकमास मान्नुको मुख्य उद्देश्य सौरमान र चान्द्रमानमा लिइने कुदिनसंख्या बराबर पार्नु हो । कुदिन भनेको इनोदयद्वयान्तरं तदर्कसावनं दिनम् अर्थात् दुइटा सूर्योदयको अन्तर्वर्ती काल नै हो । तसर्थ अधिकमास छाड्दा पाप लाग्ने लिँदा पुण्य हुने कुरा कदापि होइन, बरू चान्द्रमहिनाका कुदिन र सौरमासका कुदिन (सावनदिन) मा सामञ्जस्य जे गर्दा रहन्छ त्यही काम गर्दा पुण्य मिल्ने हो । अधिकमासका बारेमा मेरा गुरू नयराज पन्तद्वारा रचित लिच्छविसंवत्को निर्णयनामक ग्रन्थको ११३ पृष्ठ तथा ११७ पृष्ठमा उहाँले गर्नु भएको हिसाब र निर्णय यहाँ प्रस्तुत गरी अधिकमास लिनुको तात्पर्यलाई अझ प्रष्ट्याउने काम गरिन्छ
–
३६५.२५८७५ (१ सौरवर्षका सावनदिन)
×३८
२९२२०७०००
१०९५७७६२५
१३८७९.८३२५० (३८ सौरवर्षका सावनदिन)
चान्द्रमास =सौरमास + अधिमास
.. ३८ सौरवर्षका चान्द्रमास=३८x१२+१४=४५६+१४=४७०
२९.५३०५९ (१ चान्द्रमासका सावनदिन)
X ४७०
२०६७१४१३०
११८१२२३६
१३८७९.३७७३० (४७० चान्द्रमासका सावनदिन)
,
यति गणितबाट ३८ सौरवर्षमा १३८७९ सावनदिन पर्छन् तथा ४७० चान्द्रमासमा पनि त्यति नै सावनदिन पर्छन् भन्ने स्पष्ट हुन्छ । यताबाट ३८ सौरवर्षमा १४ वटा अधिमास मानिदियो भने सौर गणना र चान्द्र गणना ट्वाक्क मिल्न आउँछन् भन्ने देखिन्छ । (११३ पृष्ठ)
पाँचपाँच वर्षमा दुइदुइवटा अधिकमास मान्ने हो भने ३५ वर्षमा १४ वटा अधिकमास पर्न आउँछन् । परन्तु माथि उल्लिखित संवत् ४४९ र संवत् ४८७ का आषाढका अधिकमासले ३८ वर्षमा १४ वटा अधिकमास मानेको कुरा देखाए । (११७ पृष्ठ) लेखी भन्ने ऐतिहासिक तथ्य समुद्घात गर्नुभएको छ । यो तथ्यले हाम्रो देशमै लिच्छविकालमा सौर चान्द्रमानको तालमेल अर्थात् सामञ्जस्य राख्न १ अधिमास छाड्न हुने कुराको राम्रो उदाहरण उहाँले त्यहाँ प्रस्तुत गर्नु भएको छ।
अतः सौर चान्द्रमानमा सामञ्जस्य कायम गर्न अधिकमासलाई साधारणमास मान्नु पाप हो, इतिहासलाई कलङ्गित गर्नु हो भन्ने धारणा राख्ने व्यक्तिहरु को अध्ययन कति कमजोर र दुराग्रहपूर्ण रहेछ भन्ने कुरा निष्पक्ष पाठकहरु अब त सजिलै बुझ्न सक्छन् । अधिकमास मान्ने विषयमा भारद्वाज र नारद ऋषिको भनाई प्रस्तुत गरी यस विषयमा अझ प्रष्ट पार्ने कोशिस गरिन्छ ।
भारद्वाजको मतमा श्रावण, भाद्र, आश्विन, कार्तिक, मार्ग, पौषमा परेको अधिमास आषाढमा मान्ने माघ, फागुन, चैत्र, वैशाख, ज्येष्ठ र आषाढमा परेको अधिमास पौषमा मान्ने भन्ने भनाइ देखिन्छ जस्तै –
कर्कटे सिंहकन्यायां तुलाकीटधनुर्धरे ।
भानोः सङ्क्रमणे नष्टे द्विराषाढो विधीयते ॥ मृगकुम्भधरे मीने कियगोनृयुगे तथा । अर्कसङ्घमणे नष्टे द्विपौषं कुरुते बुधः ॥ अधिकमासा यदा नष्टारयणे द्वे सुचिन्तयेत् । द्विराषाढो द्विपौषश्च भारद्वाजस्य वचने यथा ॥
त्यस्तै नारदको मतमा
चैत, वैशाख, ज्येष्ठ, आषाढ, श्रावण, भाद्रमा परेको अधिकमास आषाढमा मान्ने आश्विन, कार्त्तिक, मार्ग, पौष, माघ, फागुनमा परेको अधिकमास पौषमा मान्ने भनाई देखिन्छ जस्तै
चैत्रादिभाद्रपदान्तानि यदा सङ्घम टयुट्यते । आषाढमासवृद्विः स्यात् नारदस्य वचो यथा ॥
आश्विन्यादि फाल्गुणान्तानि यदा सङ्घम त्रुट्यते । पौषमासा निवर्द्धन्ते मासवृद्धिर्विधीयते ॥
(लिच्छविसंवत्को निर्णयका । १८५-८६ पृष्ठ । )
यस्तै भनाई अन्यत्र पनि पाइन्छ जस्तै –
माधवाद्येषु षट्स्वेकमासि दर्शद्वयं यदा ।
द्विराषाढः स विज्ञेयः शेते कर्कटकेऽच्युतः ॥
(वृद्धमिहिर । कालमाधव द्वितीय प्रकरण)
यी भारद्वाज र नारद ऋषिको मतलाई हृदयङ्गम गर्दा अधिकमासको हिसाब जसरी मिलाए पनि हुने कुरा देखिन्छ । जुन महीनामा वास्तवमा अधिमास परेकै छैन त्यस महीनामा अधिमास बार्ने कुरा अर्थात् सौरमान र चान्द्रमानको हिसाब मिलाउने कुरा यहाँ परेको छ । अतः सौरमानमा आएको विचलनलाई मिलाउन वि.सं. २०६७ को वैशाखमा परेको अधिमासलाई साधारण माससरह मानी हिसाब मिलाउन शास्त्रको दृष्टिबाट कुनै बाधा नपर्ने देखिन्छ । अस्तु ।
( रचयिता वाल्मीकि क्याम्पसका ज्यौतिषशास्त्र विभागका पूर्व अध्यक्ष हुनुहुन्छ ।)