नेपाली ज्ञानलाई विश्वमाझ पुर्याउने सिद्धान्तकार प्रा. डा. अधिकारी
अमरराज नहर्की
तनहुँ, वैशाख ३० गते
नेपाली सञ्चार सिद्धान्त र मौलिक रैथाने ज्ञानलाई विश्व मानचित्रमा स्थापित गराउन विशिष्ट भूमिका खेल्नुभएका प्रा. डा. निर्मलमणि अधिकारीको प्राज्ञिक योगदानमाथि दुई दिने विशेष गोष्ठी आयोजना हुने भएको छ। स्वर्ण जयन्ती जन्मोत्सव मूल आयोजक समितिको आयोजनामा आगामी वैशाख ३१ र जेठ १ गते (मे १४ र १५) वेबिनार तथा सेमिनारमार्फत उहाँको बहुआयामिक व्यक्तित्व र कृतित्वमाथि गहन विमर्श हुन लागेको हो।
तनहुँको म्याग्दे गाउँपालिका–४, पिपलटारमा जन्मनुभएका डा. अधिकारीका साहित्य, दर्शन, संस्कृति र अनुसन्धानका विविध विधामा ६० भन्दा बढी पुस्तक र दुई हजार ६०० भन्दा बढी फुटकर रचनाहरू प्रकाशित छन्। उहाँले विशेष गरी पूर्वीय काव्यशास्त्र र ‘साधारणीकरण’को सिद्धान्तमार्फत नेपाली सञ्चार क्षेत्रलाई अन्तर्राष्ट्रिय प्राज्ञिक जगतमा चिनाउन महत्त्वपूर्ण योगदान दिनुभएको छ। हाल काठमाडौँ विश्वविद्यालयमा प्राध्यापनरत अधिकारीद्वारा लिखित ‘आस्थाको शान्ति युद्ध’ नामक पुस्तक विश्वका उत्कृष्ट पाँच धार्मिक पुस्तकभित्र पर्न सफल भएको थियो।
प्राज्ञिक योगदान र विश्वव्यापी प्रभाव
डा. अधिकारीले प्रतिपादन गर्नुभएको ‘सञ्चारको साधारणीकरण मोडेल’ (Sadharanikaran Model of Communication) अहिले विश्वका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश छ। उहाँले ‘सञ्चारयोग’, ‘सहृदयता दर्शन’ र ‘राज्यराष्ट्र सिद्धान्त’ जस्ता मौलिक अवधारणा मार्फत नेपाली बौद्धिक सम्पदालाई अन्तर्राष्ट्रियकरण गर्नुभएको छ। मूल आयोजक समितिका संयोजक अरुण पौडेलका अनुसार, उहाँको ५० औँ जन्मोत्सवलाई उत्सवका रूपमा मात्र नभई नेपाली माटोबाट उब्जिएको ज्ञानमाथि बौद्धिक बहस गर्ने अवसरका रूपमा लिइएको छ।
अन्तर्राष्ट्रिय वेबिनार र राष्ट्रिय सेमिनारको तयारी
प्रचार प्रसार समितिका संयोजक अमरध्वज लामाका अनुसार वैशाख ३१ गते अनलाइनमार्फत अन्तर्राष्ट्रिय वेबिनार आयोजना हुनेछ, जसमा फ्रान्स, भारत, फिनल्याण्ड लगायत विभिन्न देशका प्राज्ञिक व्यक्तित्वहरू जोडिनेछन्। वेबिनारमा डा. अधिकारीका सिद्धान्तहरूको विश्वव्यापी सान्दर्भिकतामाथि कार्यपत्रहरू प्रस्तुत हुनेछन्।
त्यस्तै, जेठ १ गते काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा भौतिक सेमिनार आयोजना हुनेछ। दिउँसो २ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा सञ्चार, शिक्षा, चलचित्र अध्ययन र सामाजिक रूपान्तरणका क्षेत्रमा उहाँका बौद्धिक कार्यहरूमाथि नेपालका वरिष्ठ प्राज्ञहरूले छलफल गर्नेछन्। सोही अवसरमा डा. अधिकारीको जीवन यात्रामा आधारित वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शन र विशेष अभिनन्दन समेत गरिने आयोजकले जनाएको छ।