गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
अनिल खत्री
३० वैशाख, गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। जिल्लाको ईस्मा गाउँपालिका–६ साहुघर निवासी ४५ वर्षीय थमनबहादुर कुमालले आफ्नै श्रीमती ४३ वर्षीया एमि भन्ने सुमित्रा कुमाललाई कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन्।
मंगलबार बेलुका करिब ६ बजे दुबै जनाले मादक पदार्थ सेवन गरेको अवस्थामा विवाद हुँदा कुटपिट भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयमार्फत साँझ ७ बजे खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट धनार्जेबाट प्रहरी सहायक हवल्दार गुनबहादुर बोहोराको कमाण्डमा टोली खटिएको थियो।
प्रहरीले कुटपिटमा संलग्न थमन कुमाललाई नियन्त्रणमा लिएको छ। घाइते अवस्थामा रहेकी सुमित्रा कुमालको मुखमा चोट तथा घाँटीमा निलडाम देखिएको थियो । उनलाई उपचारका लागि राति ९ बजे जिल्ला अस्पताल तम्घास ल्याइएको थियो।
उपचारकै क्रममा राति ११:५१ बजे चिकित्सकले सुमित्रालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए । प्रारम्भिक जानकारी अनुसार उनको छातीका ७ वटा करङ भाँचिएको बुझिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धानका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमाण्डमा ५ जनाको टोली खटिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।