पौष १६ गते बुधबार ।
दमौली।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विपी कोइराला आठ वर्षको निर्वासनपछि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ को नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक दिन (पुस १६) को अवसरमा नेपाली कांग्रेसभित्र एकताको नयाँ बहस सुरु भएको छ। ४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सुखद सन्दर्भमा नेता शेखर कोइराला र राजनीतिक विश्लेषक एवं नेता दीपकराज जोशीबीच बुधबार काठमाडौँमा भएको गहन संवादले पार्टीको आन्तरिक एकतालाई मजबुत बनाउने सकारात्मक सङ्केत दिएको हो।
विपीको मार्ग र वर्तमानको आवश्यकता
भेटका क्रममा नेता कोइरालाले विपी कोइरालाले अघि सार्नुभएको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्नुभयो। कांग्रेसलाई लोकतान्त्रिक मूल्य, पारदर्शिता र समावेशिताको जगमा उभ्याएर पुनः सशक्त बनाउनुपर्ने उहाँको दृढ मत थियो। पार्टीभित्रका हरेक समूह र विचारलाई सम्मानजनक ढङ्गले समेटेर अघि बढ्दा मात्रै कांग्रेसले जनताको पूर्ण विश्वास जित्न सक्ने धारणा नेता कोइरालाले राख्नुभयो।
बाहिरिएकालाई समेट्ने ‘घर फर्क’ अभियान
संवादका क्रममा नेता दीपकराज जोशीले कांग्रेसको ऐतिहासिक योगदान र समावेशी परम्परालाई बिर्सन नहुनेमा जोड दिनुभयो। विगतमा विभिन्न कारणले पार्टीबाट टाढा पुगेका निष्ठावान् नेता, कार्यकर्ता र समर्थकहरूलाई स-सम्मान पुनः कांग्रेसको मूलधारमा जोड्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो। “पार्टीको ढोका सधैँ खुला राख्नुपर्छ र विगतका तीता अनुभव बिर्सिएर साझा लक्ष्यका लागि एकजुट हुनुपर्छ,” जोशीले सुझाव दिनुभयो।
नयाँ रणनीतिको खोजी र भविष्यको बाटो
राजनीतिक वृत्तले यस भेटलाई कांग्रेसभित्रको सुधार र पुनर्संरचनाको महत्वपूर्ण पहलका रूपमा लिएको छ। विपीको राष्ट्रिय एकताको सन्देशलाई आत्मसात् गर्दै, पार्टीभित्रका फरक धारहरूलाई जोड्ने सेतुका रूपमा यो संवाद स्थापित हुने अपेक्षा गरिएको छ।
यस्ता खुला र रचनात्मक छलफलले आगामी निर्वाचन र नेतृत्व हस्तान्तरणका प्रक्रियालाई सहज बनाउनुका साथै नेपाली कांग्रेसलाई आन्तरिक रूपमा एकतावद्ध र भविष्यका चुनौतीहरूको सामना गर्न सक्ने सक्षम शक्ति बनाउने विश्वास लिइएको छ
(प्रेस प्रमुख) सवितुर खवर ।