निर्वाचन लक्षित कांग्रेसको शक्ति प्रदर्शन: दमौलीमा आज नगर स्तरीय र्याली हुँदै
दमौली, तनहुँ
फागुन १६,
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस व्यास नगर समितिले आज (बुधबार) दमौलीमा विशाल नगर स्तरीय र्याली आयोजना गर्दैछ। निर्वाचनको पूर्वसन्ध्यामा आफ्नो सांगठनिक शक्ति प्रदर्शन र जनपरिचालनका लागि कांग्रेसले यो कार्यक्रम गर्न लागेको हो।
नेपाली कांग्रेस व्यास नगर सभापति सूर्य हड्खलेका अनुसार र्यालीको सम्पूर्ण तयारी पूरा भइसकेको छ। आज बिहान ११:०० बजे दमौलीस्थित बी.पी. स्मृति भवनबाट सुरु हुने र्यालीले बजारका विभिन्न भागको परिक्रमा गर्ने कार्यक्रम रहेको छ।
“लोकतन्त्र, राष्ट्रियता र समाजवादको नारालाई आत्मसाथ गर्दै हामी चुनावी मैदानमा छौँ,” सभापति हड्खलेले भन्नुभयो, “आजको र्यालीले ‘रुख’ चिह्नमा मतदान गरी नेपाली कांग्रेसलाई विजयी गराउने संकल्पलाई थप मजबुत बनाउनेछ। यो केवल र्याली मात्र नभई जनतासँगको सामीप्यता बढाउने विशेष अभियान हो।”
र्यालीमा व्यास नगरपालिकाका विभिन्न वडाबाट पार्टीका नेता, कार्यकर्ता, भातृ संस्था तथा शुभेच्छुकहरूको व्यापक जनसहभागिता रहने अपेक्षा गरिएको छ। उपनिर्वाचनको सरगर्मी बढिरहेका बेला कांग्रेसले आयोजना गरेको यो नगर स्तरीय कार्यक्रमलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।
सभापति हड्खलेले आजको कार्यक्रममा उत्साहजनक रूपमा सहभागी भई आफ्नो ऐक्यबद्धता जनाउन सम्पूर्ण लोकतन्त्रवादी नेपालीहरूलाई हार्दिक आह्वान समेत गर्नुभएको छ।
प्रेस प्रमुख ।