बन्दीपुरमा पाँचौँ राष्ट्रिय बाख्रा दिवस मनाइने, उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने
अमरराज नहर्की तनहुँ, पुस २९ गते
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आगामी माघ ४ गते ‘पाँचौँ राष्ट्रिय बाख्रा दिवस’ भव्य रूपमा मनाइने भएको छ। राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका संयोजक डा. राजु कँडेलको अध्यक्षतामा सोमबार सम्पन्न सरोकारवाला निकायहरूको बैठकले दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको हो। नेपाल व्यावसायिक बाख्रा पालन महासङ्घका केन्द्रीय सचिव कुशलचन्द्र अधिकारीका अनुसार बाख्रा पालन क्षेत्रमा लागेका कृषकहरूको मनोबल उच्च बनाउन र यस क्षेत्रको व्यावसायिक विकासका लागि दिवसका अवसरमा जिल्लाका दुई जना उत्कृष्ट बाख्रा पालक कृषकलाई छनोट गरी विशेष सम्मान गरिनेछ। उत्कृष्ट कृषकहरूलाई सम्मान पत्र तथा दोसल्लाद्वारा पुरस्कृत गर्ने निर्णय भएको र सोको व्यवस्थापन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गर्ने सचिव अधिकारीले जानकारी दिनुभयो।
दिवसलाई सुव्यवस्थित बनाउन विभिन्न निकायहरूबीच जिम्मेवारी समेत बाँडफाँट गरिएको छ। बन्दीपुरस्थित ऐतिहासिक टुँडिखेलमा आयोजना हुने मूल समारोहका लागि मञ्च व्यवस्थापन तथा आवश्यक फर्निचरको खर्च बन्दीपुर गाउँपालिकाले व्यहोर्नेछ। त्यसैगरी, कार्यक्रममा सहभागी हुने कृषक, कर्मचारी र अतिथिहरूका लागि दिवसको नारा अङ्कित टोपीको व्यवस्था भानु नगरपालिकाले गर्ने सहमति भएको छ। कार्यक्रममा उपस्थित हुने कृषक प्रतिनिधि तथा कर्मचारीहरूका लागि चियापान र खाजा खर्चको व्यवस्थापन राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरले गर्नेछ।
सम्मान गरिने कृषकहरूको निष्पक्ष छनोटका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. रविनसन अधिकारीको संयोजकत्वमा एक समिति गठन गरिएको छ। समितिमा वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य, पशु विकास अधिकृत मधुविलास न्यौपाने, नेपाल व्यावसायिक बाख्रा पालन महासङ्घका केन्द्रीय सचिव कुशलचन्द्र अधिकारी र नायव पशु सेवा प्राविधिक सन्दीप ढकाल सदस्य रहनुभएको छ। राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, पशु सेवा विज्ञ केन्द्र, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र नेपाल व्यावसायिक बाख्रा पालन महासङ्घको संयुक्त आयोजनामा यो दिवस मनाउन लागिएको हो।