बैशाख ६ गते आइतबार ।
काठमाडौं संवाददाता ।
आजको सन्दर्भ (शिखा शूत्रको महत्व)
शिखा र सूत्र( टुप्पी र जनै)को महत्व-
हाम्रीहरु टाउकोमा शिखा र कांधमा जनै किन राख्दछौं ?यसको आध्यात्मिक र वैज्ञानिक कारणका वारेमा चर्चा गरौं-
टाउकोको जुनठाउंमा टुप्पी राखिन्छ त्यो मस्तिष्कको मुख्य केन्द्रहो। यसै मुनि योगिहरुले कल्पना गरेको सहस्रार चक्र रहेको छ। जस द्वारा शरीर र मनका सम्पूर्ण वृत्तिहरुको नियन्त्रण हुन्छ।यही ब्रह्मरन्ध्र पनि रहेकोछ। यो ठाउँ मानिसका मूलभूत शक्ति शक्तिहरु विवेक,दृढता, दूरदर्शिता,प्रेम र संयम शक्तिको पनि केन्द्रहो। कतिपय योग साधकहरु यश केन्द्रलाइ आत्मत्वको वासस्थान मानेर यश चक्रमा ध्यान केन्द्रित गर्दा आत्म तत्वको वोध हुन्छ भन्ने गर्छन्। आफ्नो कल्याण चाहने व्यक्तिहरुले यति महत्व पूर्ण केन्द्रको सुरक्षा गर्नु र यश केन्द्रलाइ शक्तशाली वनाउनु नितान्त जरुरी हुन्छ। टुप्पी यश चक्रको वाह्य सुरक्षा कवचहो। कुनै निश्चित रेडियो वा टिभी स्टेसन वाट प्रक्षेपित रेडियो वा टिभीका श्रव्य दृश्यका तरङ्गलाइ एन्टेना मार्फत घरघरमा रहेका रेडियो टिभीले समातेर प्रसारण गरेझैं ब्रह्माण्डको केन्द्रवाट प्रक्षेपण गरिएका ईश्वरीय प्रेरणा वा विविध भाव तरङ्गहरुलाइ विभिन्न योगध्यान चिन्तन मनन निधिध्यासन प्रणव जाप,आदि विभिन्न ध्यान मनन क्रियाहरुका माध्यम वाट मानिसको मस्तिष्कले समात्छ,ग्रहण गर्छ।त्यस ठाउंमा अझ लामा लामा रौहरु वा टुप्पी भए मस्तिष्कलाइ त्यो कार्य गर्न अझ सजिलो हुन्छ । टुप्पी वा शिखाका माध्यमवाट मस्तिष्कलाइ ईश्वरीय प्रेरणा मनोवल दिव्य आत्मिक शक्तिलाई ग्रहण गर्न सरल हुन्छ भन्ने सूक्ष्म वैज्ञानिक तथ्यकै आधारमा हाम्रा ऋषिमुनीहरुले शिरमा जटा राख्ने गर्नु भएकोहो र टुप्पी तेसैको प्रतीकहो। अन्तरिक्ष वाट टुप्पी मार्फत प्राप्त हुने सकारात्मक उर्जा स्पन्दन वा तरङ्गहरु तत्कालै त्यहांवाट फर्किएर फेरि वाहिरै नजाउन् भन्ने उद्देश्यले टुप्पीमा शिखा वाध्नेहो। पौराणिक कथनानुसार शिखाक्षेत्रमा समग्र देवी देवता तथा तीर्थहरुको वास हुने हुनले शरीरको यो स्थान पवित्र मानिन्छ।तेसैले कुनेै शुभ कर्महरु गर्दा न्यास गर्दा वा सङ्कल्प गर्दा शीखालाई छुने गरिन्छ।
शरीर विज्ञान अनुसार शरीर भरि फैलिएका सम्पूर्ण नाडीहरुलाई नियन्त्रण गर्ने सुषुम्ना नाडीको केन्द्र पनि यही शिखाक्षेत्रनै भएकोले संसारका प्राय:सवै साधना संस्कृतिमा यश क्षेत्रलाइ वुद्धिको केन्द्र मानेर उच्च महत्व दिइएकोछ।त्यसकारण त्यस भागमा टुप्पी राख्नुको अर्थ त्यो भागलाइ सुरक्षा दिनुहो।
सूत्र (जनै)
जनै के हो?
जनैको खास नाम यज्ञो पवितहो। यज्ञोपवीत ज्ञान र पवित्रताको प्रतीकहो। यज्ञोपवीतले व्यक्तिलाइ पवित्र वनाइ राख्न र राम्रो कर्म गर्न प्रेरित गर्छ। यस्तै यसले ज्ञान र धर्मको मार्गमा चल्न निर्देश गर्दछ।
यज्ञाख्य:पराात्मा य उच्यते यैश्च होतृभि:।
उपवीतो यतो$स्येदं तस्माद्यग्यो पवितम्।।
यज्ञरुपी परमात्मा का लागि भनेर जुन उपवित धारण गरिन्छ त्यहीनै यज्ञोपवीतहो।
अब यज्ञोपवीत (जनै )वनाउने विधि र अर्थ-
जनै वनाउने प्रत्येक धागाको लम्वाइ आफ्ना चार ओंलामा ९६पटक वेरिन पुग्ने हुनु पर्छ। किन भने चार ओंलाले मानिसका चार अवस्था जाग्रत,स्वप्न,सुषुप्ति र तुरीयको प्रतिनिधित्व गर्छन् भने९६संख्याले जीवन जगतका २५ तत्व पञ्च महाभूत (पृथिवी,जल,तेज ,वायु आकाश) दस इन्द्रिय( हात,पाउ,मुख,पायु उपस्थ तथा नाक,कान,आँखा,जिव्रो र छाला) पञ्च तन्मात्रा( शब्द,रुप रस ,गन्ध स्पर्श) यति २० र मन,वुद्धि अहंकार तथा प्रकृति र पुरुष गरि जम्मा यी २५ तत्व ,यस्तै त्रिगुण (सत्व,रज र तम) तिथि १५ वार ७ नक्षत्र २७, वेद ४, तीन काल (प्रात दिवा तथा सायं) र १२महिना समेत जोड्दा जम्मा ९६ यो लम्वाइ यौटामानिसको उंचाइ वरावर हुन्छ।९६/९६ अंगुलका ३टुक्रा धागालाइ एकै ठाउंमा मिलाइ तेसलाइ तेव्वर पारेर यौटा सरो वनाइन्छ। यी तीन वटा सराले सत्व रज तम यी तीन गुणको वोध गराउंछ जस वाट सम्पूर्ण चराचर जगतको निर्माण भएकोछ।तेसलाइ फेरि तेव्वर पारेर अर्को सरा वनाइन्छ।यी ३संख्याले ऋण त्रय देवऋण,ऋषिऋण र पितृऋण तिर्न पर्ने हुन्छ भन्ने जनाउछ। तिनलाइ ब्रह्मा,विष्णु र महेश्वरको प्रतीक मानिन्छ। यसरी३×३=९ गरि प्रत्येक सरामा नौ वटा धागा हुन्छन्।यी नौ धागामा निम्न लिखित नौ देवताहरु र धर्मका ९गुणहरुको प्रतिष्ठा गरिन्छ।
ॐ कार:प्रथमे तन्तौ द्वितीये$ग्नि तथैव च।
तृतीये नाग दैवत्यं चतुर्थे सोम देवता।।
पञ्चमे पितृदैवत्यं षष्टे चैव प्रजापति:।
सप्तमे मरुतश्चैव अष्टमे सूर्य एव च।
सर्वे देवनस्तु नवमे इत्येता स्तन्तुदेवता।।
अर्थात् पहिलो सरामा ॐकार ब्रह्म दोश्रोमा अग्नि ,तेश्रोमा नाग, चौथोम सोम (चन्द्रमा) पांचौंमा पितृ, छैटौंमा प्रजापति,सप्तममा वायु, आठौंमा सूर्य तथा नवौंमा सर्वदेवताको निवास हुन्छ।
तेसै गरी उपर्युक्त नौ तन्तुमा धैर्य,क्षमाशीलता, इन्द्रिय संयम, अस्तेय(चोरी नगर्नु) पवित्रता,वुद्धिमता, विद्या ,सत्यता र अक्रोध यी नौ गुणहरुको पनि आह्वन गरिन्छ। तिनै नौ धागा वाट वनेका प्रत्येक तीन सरालाइ विशेष गांठो(शिखा)पारेर जोडिन्छ जसललाई ब्रह्मग्रन्थि भनिन्छ। यसरी यौटा तीन सरे जनै तयार हुन्छ ।यसरी तयार गरिएको जनैलाइ वैदिक मन्त्रहरु द्वारा विशेष किसिमले अभिमन्त्रित गरिएको जनैमा अन्य दैवी शक्ति पनि समाविष्ट शुन्छ जसले लगाउनेलाइ आयु तेज वल प्रदान गर्छ जसको संकेत जनैलगाउंदा पढिने मन्त्रमा गरिएकोछ।
ॐयज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यम्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं वलमस्तुतेज:।।
ॐ यज्ञोपवीतमसि यज्ञस्यत्वा यज्ञोपविनोपनह्यामि।
अर्थात् सृष्टिकर्ता ब्रह्माजी संगै उत्पन्न अत्यन्त पवित्र ज्ञोपवितले आयु तेज वल प्रदान गर्नेछ।यसैका निमित्त निर्मित हे ब्रह्मसूत्र (ज्ञानको धागो)म तिमिलाइ धारण गर्दछु भनी नयां यज्ञोपवीत धारण गरेर जीर्ण यज्ञोपवीत लाइ शुद्ध स्थानमा विसर्जन गर्नु पर्छ।मन्त्र-
एतावद्दिन पर्यन्तंब्रह्मत्वं धारितं मया।
जीर्णत्वात् त्वत्परित्याग:गच्छ सूत्र यथासुखम्।।
अर्थात् हे यज्ञसूत्र? आज सम्म ब्रह्मशक्तिमानेर तिमिलाइ धारण गरेको थिएं अब तिमी जीर्ण भयौ त्यसैले तिमीलाइ शुद्ध स्थानमा विसर्जन गर्छु ।अब तिमी सुखपूर्वक आफ्ना स्थानमा जाउ।
पुरानो जनै योमन्त्र पढेर गंगाजलमा वगाउने वा पवित्र स्थानमा विसर्जन गर्ने। तिलक लगाउने।
जनैको अर्को नाम ब्रह्मसूत्र पनि हो।
जनै लगाउनुको उद्देश्य र उपयोगिता-
यज्ञोपवितको मुख्य लक्षका वारेमा वताइएकोछ-
त्रिरस्यता परमा सन्ति सत्यस्यार्हा देवस्य जनिमान्यग्ने।
अनन्ते अन्त परिवीतं आगाच्छुचि:शुक्रो अर्हो रोरुचान:।।
अर्थात् यज्ञोपवीतका ३मुख्य लक्षछन् – सत्यव्यवहारको आकाङ्क्षा, अग्निसमान तेजस्विता, दिव्यगुणहरुको प्राप्ति। यस्तै अन्यान्य धार्मिक ग्रन्थहरुले पनि यज्ञोपवीतलाइ दीर्घजीवन ,सस्वास्थ्य वल ,तेज,बुद्धि,प्रतिष्ठा विजय र सुख प्रदायक सूत्र मानेकाछन्। यति महत्वपूर्ण मानिएको यज्ञोपवित द्विज वर्गले संधै धारण गर्नु पर्छ। यही नै सनातन विधिहो भन्ने मान्यता वशिष्ठ स्मृतिकोछ।
उपवीति भवेन्नित्यं विधिरेष:सनातन:।
यजुर्वेदका अनुसार यज्ञोपवित धारण गरेका पुष्ट र बलवान् मानिसहरुलाइ नमस्कारछ”उपवीतिने पुष्टननां पतये नम:।।”
यसरी यज्ञोपवीत वा जनैको महत्व वुझिसकेका व्यक्तिका मनमा “मैले ब्रह्म सूत्र लगाएकोछु जीवनलाइ उद्देश्य मूलक वनाउने प्रतिज्ञा लिएकोछु,विषय भोगमा मात्र न अल्मलिएर मैले परमार्थ-प्राप्ति सम्म पुग्नु छ र सामाजिक दायित्व पनि वहन गर्नुछ” भन्ने मनो वैज्ञानिक प्रभाव रहिरहन्छ।यश वाट व्यक्ति कर्तव्य परायण,सदाचारी,परोपकारी पुरुषार्थी निर्भिक र सहासी वनाइ राख्न मद्दत गर्छ।
कानमा जनै किन राख्ने?
जनै धारण गर्ने व्यक्तिहरुले दिशा पिशाव गर्दा कानमा जनै वेर्ने गर्नु हुन्छ। यो शाश्त्रीय नियमहो। यसका पछाडी दुइटा कारणहरु देखा पर्छन। पहिलो कारणहो भावनात्मक र दोश्रो हो शरीर विज्ञान अनुसार स्वास्थ्यको सुरक्षा।
>जनै कानमा वेर्ने-
भवनात्मक कारणका अनुसार मलमूत्र त्यागका समयमा शरीरको तल्लो भाग विशेष गरि कम्मर मुनीको भाग दूषित हुन्छ अपवित्र हुन्छ तेसैले पवित्रताको प्रतीक जनैलाइ शुद्ध नभए सम्म कामना राख्नु पर्छ भन्नेहो।
आचार मयुखमा भनिएकोछ-
अग्निरापश्च वेदाश्च सोम:सूर्यो$निलस्तथा।
सर्वेदेवास्तु विप्रस्य कर्णे तिष्ठन्ति दक्षिणे।।
अग्नि,जल वेद सोम:(चन्द्र) सूर्य अनिल लगायत सवै देवताहरु विप्रका दाहिने कानमा निवास गर्छन्। तेसैले शिरको वरी परीको भाग पवित्र हुन्छ।
वैज्ञानिक हिसावले मानिसको वीर्यकोष हुंदैं मल मूत्र द्वार सम्म पुग्ने “लोहितिका” नाडीको मुख्य केन्द्र कानको फेदमा हुन्छ। मलमूत्र त्यागको वेलामा जनै लगेर कानका फेदमा वेरिदिंदा उक्त नाडी केन्द्र प्रभावित भइ वीर्यकोषमा संकुचन र मल मूत्र द्वारमा शिथिलता आउने हुनाले एकातिर मलमूत्र त्याग गर्दा वल पर्नाले अनयास ही वीर्यपात हुन सक्ने समस्या वाट जोगिन सकिन्छ भने अर्को तिर सहज ढंगले मलमूत्र विसर्जन हुन्छ। विशेष गरि दाहिने कानको सम्बन्ध मूत्राशय र बायाँ कानको समवनेध गुदद्वार संग हुने हुनाले(मूत्रे तु दक्षिणे कर्णे पुरीषे वाम कर्णके” भन्ने शाश्त्रीय वचन अनुसार मूत्र त्याग गर्दा दाहिने कानमा र मल त्याग गर्दा बायाँ कानमा जनै वेर्ने गरीन्छ वा दुवै क्रिया संग सगै हुने स्थितिमा दुवै कानमा वाध्ने चलनछ। कानको फेद देखि वाह्य घेरो हुंदै टुप्पो वा लोती सम्म शारीरिक रोगनिवारण गर्ने विभिन्न केन्द्रहरु हुन्छन्। ती केन्द्रहरु चिनेर दवाव दिंदा ,छेड्दा प्वालपारे धातुका मुन्द्रहरु गरगहनाहरु लगाउंदा,बहु मूत्र,प्रमेह, ववासिर जस्ता दर्जनौ रोगहरु वाट वचन सकिन्छ भन्ने आयुर्वेदिक अकुप्रेसर ,अकुपञ्चर आदि उपचारहरु विज्ञानका आधारमा गरिने हुनाले यसै कारणले आभूषणहरुले संस्कारको रुप पाएका हुन्। महिला वा पुरुषले कानछेडेर गहना लगाउनका पछाडी पनि त्यही शरीर वैज्ञानिक कारण रहेको वुझिन्छ। कानचीरा योगीहरुले कान चिरेर कुण्डल लगाउनु पछाडीको कारण पनि यही हुन सक्छ।
शूद्रता र जनै- जहाँ सम्म शूद्रहरुलाइ जनै लगाउन निषेध गरिएको कुराछ, शाश्त्रीय आधारमा हेर्दा शूद्रता भन्ने कुरा वंशानुगत नभएर वृत्तिगत वा कर्म गतहो। जन्मदा सवै शूद्रवत् हुन्छन् र तिनको संस्कार गरे पछि ती द्विज वन्छन्। अनि ज्ञान गुनको अनुशीलन गर्दै पूर्ण ज्ञानी भए पछि क्रमश: विप्र र ब्राह्मण वन्छन् भन्ने शाश्त्रीय वचनछ।
जन्मना जायते शूद्र:संस्कारात् द्विज उच्यते।
वेदपाठी भवेत् विप्रो ब्रह्म जानाति ब्राह्मण:।।
यश वाट के कुरा स्पष्ट हुन्छ भने संस्कार हीन अवस्थानै शूद्र अवस्थाहो र संस्कार द्वारा पूर्णतया सुसंस्कृत अवस्थानै ब्राह्मण हो। शूद्रता मानवीय विकास यात्राको प्रारम्भहो भने ब्राह्मणत्व तेसको पूर्ण अवस्थाहो। जो यात्राको प्रारम्भमैछ,अगाडि वढ्नै चाहंदैन,सुसंस्कृत हुनै चाहंदैनविधिनियमको पालना गर्दैन,मानवीय मूल्यमान्यताकोपर्वाह गर्दैन,जीवन आदर्शको उपेक्षा गर्छ र खान पान रहन सहन विधि व्यवहार मा जो छाडाछ तेसैको नाम शूद्र हो। तेस्ता आस्था र आदर्श विहिन व्यक्तिलाइ ब्रतवन्धको प्रतीक सरुप यज्ञो पवित दिनु भनेको यज्ञोपवीतको दुरुपयोग गर्नु हो। अत:ब्राह्मण परिवारमा जन्मेर पनि दुष्ट कर्म गर्नेलाइ यज्ञोपवित दिनु हुंदैन र शूद्रपरिवारमा जन्मेर पनि अदुष्ट कर्म गर्ने वा सत्कर्म गर्ने छ भने तेस्तालाइ उपनयन तथा यज्ञोपवीत गरिदिनु भन्ने शाश्त्रीय निर्देशन(अदुष्टकर्मणां शूद्राणामुपनयनम्)उपयुक्त देखिन्छ।(सन्दर्भ साम्राग्री हाम्रा सोह्र संस्कार प्रा डा० श्रीनारायण प्र अधिकारीज्यू)
अहिले पाश्चात्य मुलुक जर्मन, फ्रान्सलगायतका अस्पतालमा भर्नाभएका मलमूत्र विसर्जन गर्न गाह्रो भएर अस्पताल भर्ना भएका रोगीहरुलाइ धागोमा सानो ढुंगा वेरेर कानमा झुण्ड्याइ दिने र कमोटको सट्टा प्यान (पुरानो ढांचाको टुक्रुक्क वसेर मलमूत्र विसर्ज गर्ने) वसालेर गराउने गरीन्छ भन्ने पनि सुनिन आएकोछ।सम्भवत: त्यसको प्रयोजन पनि यही जनै कानमा वेर्ने र टुक्रुक्क वस्ने तरिका मान्न सकिन्छ। यसरी समग्रमा हेर्दा हाम्रो आध्यात्मिक संस्कार कति पवित्र र वैज्ञानिकछ रहेछ भन्न सकिन्छ । जयश्रीकृष्ण राधे
(गुरु प्रेम खनाल लेख्नु हुन्छ ।स्रोत )