आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि रामशाह माध्यमिक विद्यालयले जितेको छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै रामशाह माविले १७ स्वर्ण, ६ रजत र २ कास्य पदक सहित प्रथम स्थान हासिल गरेको हो।
मित्रता माध्यमिक विद्यालयले ५ स्वर्ण, १० रजत र ८ कास्य पदकसहित दोस्रो स्थान, भने फ्यूचर स्टार सेकेन्डरी बोर्डिङ स्कुलले ४ स्वर्ण, ५ रजत र ५ कास्य पदकसहित तेस्रो स्थान हात पारेको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” मूल नाराका साथ तीन दिनसम्म चलेको प्रतियोगिता आँबुखैरेनी–२, मार्कीचोकस्थित रंगशाला र रामशाह माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको हो।
प्रतियोगितामा गाउँपालिकाका पाँच सामुदायिक र पाँच संस्थागत गरी १० विद्यालयको सहभागिता रहेको थियो। २८ विधामा सम्पन्न प्रतियोगितामा एथलेटिक्सका सम्पूर्ण विधा रंगशालामा, भने भलिबल प्रतियोगिता रामशाह माध्यमिक विद्यालयमा सञ्चालन गरिएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुवँरले जानकारी दिइन्।
समापन समारोहमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले भने, “खेलकुदले स्वास्थ्य मात्र होइन, युवापुस्तामा अनुशासन, सहकार्य र राष्ट्रिय चेतना अभिवृद्धि गर्छ। हामी आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिनेछौं र गाउँपालिका स्तरमै खेलकुद प्रवर्द्धनमा जोड दिनेछौं।”
उहाँले आगामी मंसिरको अन्तिम साता आँबुखैरेनी रंगशालामा विद्यालय स्तरीय फुटबल प्रतियोगिता र वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने जानकारी पनि दिए।