अमरराज नहर्की
तनहुँ मंसिर २२
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ की नेपाली कांग्रेस नेतृ चिजा श्रेष्ठ तीन दशकभन्दा बढी समयदेखि निरन्तर संगठन, राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका नाम हो । कुनै किसिमको लाभको पद नपाए पनि पार्टीप्रतिको निरन्तर समर्पण, धैर्यता र जिम्मेवारीपूणर्फ योगदानका कारण उनी आज कांग्रेसभित्रको पुरानो तथा प्रभावशाली भातृ संगठन नेपाल भूतपूर्व सैनिक संघको निर्वाचित केन्द्रीय सदस्य तथा महिला विभागकी केन्द्रीय अध्यक्षको नेतृत्वमा स्थापित छिन् ।
श्रेष्ठको राजनीतिक यात्रा २०५४ सालमा गोरखा धुवाकोट गा.वि.स.को नेपाली कांग्रेस सभापतिको भूमिकाबाट सुरु भएको थियो । त्यसपछि आवुखैरेनी गा.वि.स. महिला संघको सभापति हुँदै उनले संगठन विस्तार र महिला सशक्तिकरणमा उल्लेखनीय काम गरेर चर्चा कमाइन् । पार्टीको १२औँ महाधिवेशनमा तनहुँ क्षेत्र नं. १ बाट क्षेत्रीय सदस्य र १३औँ महाधिवेशनमा जिल्ला सदस्य बनेपछि उनको राजनीतिक कदम थप सुदृढ बन्दै गयो ।
संगठनको भूमिकाका साथै उनी नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशकी उपसभापति पनि रहेकी छन् । आवु खैरेनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका लागि पटक–पटक दाबी भए पनि अवसर प्राप्त नभएका कारण उनी अझै लाभका पदमा पुगेकी छैनन् । तर, पदभन्दा माथि उठेर निरन्तर पार्टीप्रति समर्पित भई काम गर्दै आउनु नै उनको पहिचान बनेको छ ।
यही समर्पण र योगदानका कारण चिजा श्रेष्ठ आगामी प्रतिनिधि सभा निर्वाचन (२०८२ फागुन २१) का लागि समानुपातिक तर्फ कांग्रेसबाट उम्मेदवारका रुपमा प्रस्तुत भएकी छन् । पार्टीले अब उचित मूल्याङ्कन गरी न्याय दिनेमा आफू पूर्ण विश्वस्त रहेको उनको भनाइ छ । दुई दशकभन्दा बढी समयसम्म अविराम संगठनिक यात्रा, महिला सशक्तिकरणमा उल्लेखनीय योगदान र पार्टीप्रतिको निरन्तर समर्पणले चिजा श्रेष्ठलाई कांग्रेसको महत्वपूर्ण नेतृत्व तहमा स्थापित गराएको छ ।
प्रमुख प्रेस सल्लाहकार ।