पौष ८ गते मंगलबार ।
तनहुँ ।
युवा नेता श्री दिपकराज जोशीको सन्त र सादगी नेता स्व .श्री पूर्व प्रधानमन्त्री प्रतिको सम्मानमा लेख्नु हुन्छ ।म १७ वर्षको उमेरमा एसएलसी पास गरेर काठमाडौं आएँ। काठमाडौं आइपुगेको केही दिनमै बुबाले मलाई एउटा निर्देशन दिनुभयो, हरेक बिहान सन्त नेता कृष्णप्रसाद भट्टराईको निवासमा जानु।
१७ वर्षको एउटा केटाका लागि काठमाडौं आफैंमा आकर्षणको ठूलो संसार थियो। मखन गल्लीमा भिडिओ हेर्नु, विभिन्न मोमो पसल धाउनु, नयाँ–नयाँ ठाउँ, कलेज घुम्नु, यी सबै कुराले मलाई तानिरहेका थिए। तर ती सबै चाहनालाई थाती राखेर झण्डै दुई महिना म हरेक बिहान कृष्णप्रसाद भट्टराईको घर पुगिरहेँ।
त्यो बेला उहाँलाई भेट्न आउने मानिसहरू थोरै नै हुन्थे। बिहान उहाँ टाइम्स अफ इन्डिया र नवभारत टाइम्स पढिरहनु हुन्थ्यो। ती पत्रिकाहरू मैले जीवनमै पहिलोपटक त्यहीँ देखेको थिएँ। त्यहाँ आउने विभिन्न व्यक्तित्वहरूसँग उहाँले मलाई चिनाउनुभयो।
तर त्यतिबेला म भने मनमनै सोचिरहन्थेँ “म कहाँ फसेँ?” डेढ–दुई घण्टा त्यहीँ बिताएर जतिसक्दो चाँडो बाहिर निस्कन आतुर हुन्थेँ।
तर समयसँगै एउटा अनौठो परिवर्तन हुन थाल्यो। उहाँका धेरै कुरा मैले शब्दशः बुझिनँ, तर ती शब्दहरूले मेरो मन छुने बाटो भेटे। उहाँको राजनीति नारामा थिएन, व्यवहारमा थियो। उहाँको अध्यात्म मन्दिरमा सीमित थिएन, राजनीतिमा प्रकट हुन्थ्यो।
आज आएर मैले महसुस गरेँ राजनीति यदि नैतिकताबाट छुट्छ भने त्यो केवल सत्ता–व्यवस्थापन मात्र हुन्छ, र अध्यात्म यदि समाजबाट भाग्छ भने त्यो केवल आत्म–सन्तुष्टि मात्र रहन्छ।
पछि कलेज पढ्न म पोखरा गएँ। किसुनजीसँगको प्रत्यक्ष संगत टुट्यो, तर उहाँले रोपिदिएको बीउ भने मनभित्र रहिरह्यो। समय बित्दै जाँदा, जीवनका मोडहरूमा, निर्णयका क्षणहरूमा, म बारम्बार उहाँकै छायाँमा फर्किरहेँ।
आज आएर म स्पष्ट रूपमा भन्न सक्छु । म किसुनजीको मार्गमै छु। यो मार्ग कुनै व्यक्तिपूजा होइन, यो विवेकको मार्ग हो। यस धर्तीमा जन्मेका मानिसहरू एक–अर्कासँग अदृश्य धागोले जोडिएका हुन्छन्। मेरो जीवनमा त्यो धागो कृष्णप्रसाद भट्टराई हुनुहुन्छ। आज म उहाँसँग वैचारिक रूपमा मात्र होइन, आध्यात्मिक रूपमा पनि जोडिएको अनुभूति गर्छु। राजनीति मेरो लागि आज पनि सत्ता प्राप्तिको खेल होइन; यो आत्मअनुशासनको अभ्यास बनेको छ। र अध्यात्म समाजबाट पलायन होइन; यो समाजप्रतिको गहिरो उत्तरदायित्व हो। किसुनजीले मलाई यही सिकाउनुभयो शब्दले होइन, उपस्थितिले।
आज पनि किसुनजीको सान्दर्भिकता यहीँ छ। आजको भीड–केन्द्रित, उन्माद–प्रधान राजनीतिमा उहाँको संयम, सरलता र नैतिक साहस अझ आवश्यक बनेको छ। उहाँले हामीलाई राजनीति आत्माको अनुशासन बिना दीर्घकालीन हुन सक्दैन, र अध्यात्म समाजप्रतिको उत्तरदायित्व बिना अपूर्ण रहन्छ भनेर सिकाउनु भयो । यस जन्मजयन्तीमा किसुनजीलाई श्रद्धाञ्जली अर्पण गर्नु भनेको उहाँका तस्बिरमा फूल चढाउनु मात्र होइन; उहाँले देखाउनुभएको मूल्य–मार्गलाई आजको व्यवहारमा उतार्नु हो। किसुनजी आज पनि हाम्रो विवेकमा जीवित हुनुहुन्छ शब्दमा होइन, मार्गदर्शनमा।