पौष २७ गते आइतबार ।
तनहुँ ।
इन्जिनियर पनि राजनीतिमा होमिदै।
न्यौपानेले तनहुँ–२ का दीर्घकालीन समस्यालाई समाधानमुखी योजनासहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। राजमार्ग आसपासका बस्तीको सुरक्षा, दशकौँदेखि अलपत्र परेका विकास आयोजना, खानेपानी, सडक, सिँचाइ तथा ठूला परियोजनाबाट स्थानीयले पाउन नसकेको लाभलाई प्राथमिकताका साथ सम्बोधन गर्ने उनको योजना रहेको छ।उनले तनहुँ जलविद्युत आयोजनाबाट बन्ने २१ किलोमिटर लामो जलाशयलाई पर्यटकीय हब, मत्स्यपालन, जलक्रीडा, होमस्टे र स्थानीय रोजगारीसँग जोड्ने बहुउपयोगी मोडेलको अवधारणा अघि सारेका छन्। साथै कालीगण्डकी कोरिडोरसँग जोडिएको रिसिङ–घिरिङ क्षेत्रलाई स्मार्ट भिलेज, औद्योगिक केन्द्र, निर्माण सामग्री हब र राष्ट्रिय रणनीतिक औद्योगिक क्षेत्रको रूपमा विकास गर्न सकिने स्पष्ट भिजन प्रस्तुत गरिएको छ। सो अवधारणासहित नेपाल सरकारलाई ज्ञापनपत्रसमेत बुझाइसकिएको उनले जानकारी दिए।कृषि क्षेत्रमा सुन्तला, अदुवा, अंगुरजस्ता नगदे बाली निर्यातयोग्य बनाउने र धान, मकै, गहुँ, कोदो, तोरी, मासु तथा दुग्धजन्य उत्पादनमा आत्मनिर्भर क्षेत्र निर्माण गर्ने लक्ष्य लिइएको छ।न्यौपानेले शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा आफूले गरेका कार्यहरूको समेत उल्लेख गरेका छन्। विद्यालयमा स्मार्ट बोर्ड जडान, अपाङ्ग तथा अशक्तलाई ह्वीलचेयर वितरण, आमा समूहलाई स्ट्रेचर सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, जलविद्युत आयोजना अवलोकन भ्रमण, युवालाई रोजगारीलगायतका कार्यक्रमहरू उनले अघि बढाएका छन्।उनको व्यावसायिक पृष्ठभूमिमा मेलम्ची खानेपानी आयोजना, नागढुंगा सुरुङमार्ग, जलविद्युत आयोजनामा आयोजना निर्देशकको भूमिका, करिब १५ किलोमिटर सुरुङ निर्माणमा नेतृत्व, दुई इन्जिनियरिङ कलेज स्थापनामा योगदान, २ हजारभन्दा बढी इन्जिनियर उत्पादनमा भूमिका तथा राष्ट्रिय गौरवको ‘प्रवल जनसेवाश्री चतुर्थ’ सम्मान प्राप्त रहेको छ।रास्वपाको इमानदार, पेशागत दक्ष, भ्रष्टाचारमुक्त र परिणाममुखी नेतृत्वको मूल्यसँग आफ्नो जीवन दर्शन मेल खाने उल्लेख गर्दै न्यौपानेले संसद मात्र होइन, ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार र औद्योगिक विकास क्षेत्रमा कार्यकारी जिम्मेवारी सम्हाल्न सक्ने तयारी रहेको बताएका छन्।उनले वि.सं. २१०० सम्म नेपालमा ५० हजार मेगावाट ऊर्जा उत्पादन तथा खपत, प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर र प्रतिव्यक्ति विद्युत खपत ५ हजार युनिट पुर्याउने दीर्घकालीन लक्ष्यप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्
प्रेस प्रमुख ।