दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार डा. वाग्लेलाई आगामी निर्वाचनका लागि उम्मेदवारका रूपमा अघि सारिएको हो।
अर्थशास्त्री तथा पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहेका डा. वाग्ले पछिल्लो समय वैकल्पिक राजनीतिक धारको सशक्त प्रतिनिधिका रूपमा परिचित हुनुहुन्छ। रास्वपाले सुशासन, पारदर्शिता र आर्थिक सुधारलाई मुख्य एजेन्डा बनाउँदै अनुभवी र विज्ञ व्यक्तिलाई उम्मेदवार बनाइएको जनाएको छ।
पार्टीका नेताहरूले तनहुँ–१ मा परिवर्तनको चाहना बढ्दै गएको र डा. वाग्लेको उम्मेदवारीले मतदातामा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका छन्। स्थानीय स्तरमा समेत वाग्लेको उम्मेदवारीलाई लिएर चासो र उत्साह बढेको देखिएको छ।
डा. वाग्लेले देशको आर्थिक सुधार, रोजगारी सिर्जना र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। रास्वपाले तनहुँ–१ लाई परिवर्तनको सुरुवात गर्ने आधार क्षेत्रका रूपमा लिएको बताइएको छ।