माघ ८ गते बिहीबार ।
काठमाडौं ।
सवितुर खबरका प्रमुख प्रेस सल्लाहकार नहर्की काठमाडौँ विश्वविद्यालयमा विद्यावारिधिका लागि छनोट
काभ्रे, माघ ८ गते सवितुर खबर अनलाईनका प्रमुख प्रेस सल्लाहकार एवं वरिष्ठ पत्रकार अमरराज नहर्की काठमाडौँ विश्वविद्यालयमा विद्यावारिधि (पीएचडी) का लागि छनोट हुनुभएको छ। विश्वविद्यालयको मानविकी संकाय अन्तर्गत आमसञ्चार तथा पत्रकारिता विषयमा उहाँले पेश गर्नुभएको अनुसन्धान प्रस्ताव स्वीकृत भएपछि शोधार्थीका रूपमा उहाँको चयन भएको हो।
यसै सिलसिलामा बिहीबार काभ्रेको धुलिखेलस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष अन्तरक्रिया कार्यक्रममा शोधार्थी नहर्की सहभागी हुनुभएको छ। विश्वविद्यालयको अनुसन्धान, विकास र नवप्रवर्तन निर्देशनालय (KU-RDI) द्वारा आयोजित उक्त कार्यक्रममा उपकुलपति, रजिस्ट्रार लगायतका उच्च पदाधिकारीहरूले नहर्कीसहितका नवनियुक्त शोधार्थीहरूलाई स्वागत गर्दै अनुसन्धानका प्राज्ञिक पक्षबारे मार्गनिर्देशन गर्नुभएको थियो।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील नहर्कीले नेपालको समसामयिक र गम्भीर विषयमा आफ्नो शोध केन्द्रित गर्नुभएको छ। उहाँको विद्यावारिधिको शोध शीर्षक “The concept of anti-corruptology and the role of media in controlling corruption in Nepal: A study” रहेको छ।
मुलुक प्राकृतिक रूपमा सम्पन्न भए तापनि भ्रष्टाचारकै कारण आर्थिक र सामाजिक रूपमा पछाडि परेको र दक्ष युवा जनशक्ति पलायन हुनुपरेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आफूले यो विषय रोजेको नहर्कीले बताउनुभयो। आफ्नो लामो व्यावसायिक पत्रकारिताको अनुभवलाई प्राज्ञिक अनुसन्धानसँग जोड्दै भ्रष्टाचार न्यूनीकरणका लागि सञ्चार क्षेत्रले खेल्न सक्ने भूमिका र यसका विभिन्न आयामहरूमाथि उहाँले गहन अध्ययन गर्नुहुनेछ।
नेपालको सुशासन र पारदर्शिताका पक्षमा कलम चलाउँदै आउनुभएका नहर्कीको यो नयाँ शैक्षिक यात्राले नेपाली पत्रकारिता र अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सवितुर खवर परिवारले हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिएको छ।