युवाले कृषिमा लोभलाग्दो फड्को मार्दै ।

माघ १२ गते सोमबार ।
तनहुँ भानु १२ घलेछाप।
को हुन कुशल अधिकारी ?
युवाको प्रेरणाको स्रोत हुन।
स्वरोजगारमा रमाउन सक्ने युवा उद्योगी ।
युवा पलायन रोक्ने मिसाइल बन्दै ।
स्थानीय उत्पादनमा जोड दिएर समृद्धि ल्याउन पहल गर्ने युवा अब्बल कृषिकर्मी।
देशको माया गर्ने र पढेलेखेका ले आधुनिक ढंगले गर्नुपर्ने छ कृषि र पशु पालन ब्यवसाय भन्छन्उनी।
गाउँमै कृषि उद्यम गरिरहेका कुशल चन्द्र अधिकारी
नेपालमा पछिल्लो समय रोजगारी र पढाइका लागि विदेश जाने युवाको लर्को नै लागेको छ । धेरै युवाहरूको पहिलो आकांक्षा बिदेसिने हुन्छ, स्थायी जागिर र राम्रो कमाइको खोजीमा आफ्नो गाउँ–घर, खेत–बारी, संस्कार र परिवार सबैलाई छाडेर युवाहरू विदेश पलायन भइरहेका छन् । तर, यस्तै परिस्थितिमा फरक सोच बोकेर उभिएका छन् तनहुँको भानु नगरपालिका–१२ का कुशल चन्द्र अधिकारी ।
अधिकारीले सहरको चमक र विदेशको प्रलोभन भन्दा पनि आफ्नै गाउँको माटोमा आफ्नो भाग्य र भविष्यको रेखा कोरिरहेका छन् । उच्च शिक्षासम्म अध्ययन गरेका अधिकारी विदेश होइन, आफ्नै माटोमा रमाइरहेका छन् । अधिकारीले शिक्षा, श्रम र दृढ इच्छाशक्तिले गाउँमा नै नयाँ अवसरहरू जन्माउन सकिन्छ भन्ने सत्यलाई पुष्टि गरिदिएका छन् ।
उसो त, २०६४ सालमै एसएलसी पास गरेका अधिकारी लाहुरे बन्ने सपना बोकेर काठमाडौँ आएका थिए । उनी पढाइका लागि काठमाडौँ आएका थिए तर आर्थिक हैसियतले उनलाई काम गर्न पनि बाध्य बनायो । मेडिकल फार्मेसीमा काम गर्दै उनले आफ्नै खर्च धान्ने मात्र होइन, आत्मनिर्भर बन्ने बानी नै सिके । पछि १२ कक्षा सकेपछि उनको मन विदेश तिरै लागेको थियो, लाहुरे बन्ने सपना धेरै नेपाली युवालेजस्तै उनले पनि बोकेका थिए । तर परिस्थितिले उनलाई अर्कै मार्गतिर धकेल्यो । विदेशको तयारी गर्दागर्दै उनले काठमाडौँमै ट्राभल एजेन्सी खोले र करिब छ वर्ष उक्त व्यवसाय चलाए । त्यो व्यवसायले उनलाई आर्थिक आधार दिएको थियो, तर मन भने गाउँको विकास, गाउँको परिवर्तन र गाउँमै केही गर्ने चाहनाले भरिँदै गयो ।
काठमाडौँमा बस्दै उनले समाजशास्त्रमा व्याचलर र मास्टर दुवै अध्ययन गरेका थिए । ग्रामीण विकास सम्बन्धी अध्यायहरूले उनको सोचलाई पल्टाइदियो । किताबका शब्दहरूले गाउँको वास्तविकता सम्झाइदियो, जहाँ गाउँमा सम्भावनाहरू त भरपुर थिए, तर प्रयोग गर्ने युवाको अभाव थियो । यस समयमा उनका बुबा र शिक्षक सुन्दर न्यौपानेले दिएको प्रेरणा निर्णायक बन्यो । अन्ततः अनेक शंका र उत्सुकताबीच नयाँ सुरुवात गर्न उनले सहर छाडेर गाउँ फर्किने निर्णय लिए ।
काठमाडौँबाट गाउँ फर्किने निर्णय अधिकारीका लागि आफैमा जटिल थियो । उनले आफैलाई प्रमाणित गर्नुपर्ने चुनौती थियो । गाउँ फर्किनु त अधिकारीका लागि केवल सुरुवात मात्रै थियो । अधिकारीको पुग्नुपर्ने बाटो अझै लामो थियो ।
सुरुका दिनमा उनले केही स्थानीय जातका बाख्रा र कुखुरा पाल्दै कृषि उद्यममा हात हाले । उनी यति उत्साहका साथ लागे कि ३०० भन्दा बढी कुखुरा पालन गर्दै धादिङका विभिन्न रेस्टुरेन्टमा आपूर्ति गर्न थाले । व्यवसायले बिस्तारै आकार लिन थालेको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीले बजार ठप्प पारिदियो । कुखुरा विक्री हुन छाडेपछि उनलाई थप संकट आइलाग्यो । तर उनले आफ्नो योजना फेरि सम्हाले । यही मोडबाट उनले बाख्रापालन, मौरीपालन, भैंसीपालन, माछापालन र केरा खेतीजस्ता विविध व्यवसायतर्फ ध्यान दिए । ‘कोरोनाको महामारीपछि लोकल कुखुरा पाल्न बिस्तारै छोड्दै गयौँ । बाख्रा पालन सुरु गरियो, यसरी नै बिस्तारै मौरी र ४ वटा भैँसीबाट व्यवसाय गर्न थालेको हुँ’, उनले भने । २०७५ सालमा उनले ‘मिर्लुङ बहुउद्देश्यीय कृषि फर्म’ दर्ता गरे । सुरुमा ‘मिर्लुङ बाख्रा फर्म’का रूपमा व्यवसाय थालेका उनले बुबाको सुझावअनुसार बहुउद्देश्यीय रूपमा विस्तार गरे । उनीसँग २०० रोपनीजति बाँझो जग्गा थियो । मानिसहरूले छाडिदिएको, उपयोग नभएको जमिनलाई उनले योजनाबद्ध कृषि क्षेत्र बनाए । यही जमिन आज उनको व्यवसायको मुख्य आधार बनेको छ । दुई करोडभन्दा बढी लगानी, वैज्ञानिक व्यवस्थापन र निरन्तर मेहनतले गर्दा उनी केही वर्षमै गाउँकै रोजगारी बनाउने व्यक्तिको रूपमा स्थापित भए । अहिले उनको व्यवसायले दुई परिवारसहित ६ जनालाई स्थायी रोजगारी दिएको छ ।
यति मात्रै होइन, भैंसीपालन उनको व्यवसायको प्रमुख हिस्सा बनेको छ । अहिले उनको गोठमा १४ वटा भैँसी छन्, दैनिक ८० लिटर दूध उत्पादन हुन्छ । गाउँका चिया पसलदेखि स्थानीय बासिन्दासम्म दूध पुर्याउने जिम्मेवारी उनी स्वयंले नै लिन्छन् ।
आधा दूध प्रत्यक्ष बिक्री र बाँकी आधाबाट पनिर उत्पादन गरी बजारमा पठाउने उनको कार्यशैलीले स्थानीय उत्पादनलाई नयाँ पहिचान दिएको छ । ग्राहक सन्तुष्टि र गुणस्तरले गर्दा माग पनि दिनानुदिन बढिरहेको छ ।
अधिकारी एकै प्रकारको खेतीमा सीमित भएर बसेका छैनन् । मौरी पालनमा उनले ३ मुडे घार र २५ आधुनिक घार सञ्चालन गरेका छन्, जसबाट नियमित आम्दानी प्राप्त हुन्छ । बाख्रा, कुखुरा, कालिज, माछा तथा केरा खेतीजस्ता विविध कृषि क्रियाकलापले उनको आयस्रोतलाई स्थिर र दीर्घकालीन बनाएको छ । आज उनको मासिक आम्दानी करिब २ लाख ५० हजार रुपैयाँ पुगेको छ, जुन कुनै सहरका जागिरेको तलबभन्दा कम छैन । उनको मेहनत र समर्पणले २०७९ सालमा गण्डकी प्रदेश सरकारबाट ‘उत्कृष्ट कृषक’ सम्मान दिलायो । यो पुरस्कारले उनले आफूले सुरु गरेको कामप्रति थप हौसला प्राप्त गरे । अहिले अधिकारीलाई अझ आत्मविश्वासी बनाएको छ । उनी नेपाल व्यवसायी बाख्रा पालक महासंघ पूर्व तनहुँ जिल्ला अध्यक्ष र नेपाल व्यवसायिक बाख्रा पालक महासङ्घ हाल केन्द्रीय सचिव पनि रहेका छन् । सुरुमा उनलाई गाउँ फर्केपछि तिनै गाउँलेहरूले सहरमा बसेर यति पढेर किन फर्कियो ? भन्ने प्रश्न गर्थे । तर आज यिनै गाउँलेहरू उनलाई विश्वास गर्छन्, समर्थन गर्छन् र गर्व गर्छन् ।
कृषिमा मुख्य चुनौतीः बिमा र ऋण
यद्यपि सफलतासँगै समस्याहरू पनि छन् । कृषि बिमा सहज नहुनु, कृषि ऋण पाउन कठिनाइ, औजार र प्रविधिको अभाव जस्ता समस्या अधिकारीले भोग्दै आएका छन् । हुन त यो समस्या अधिकारीको मात्रै होइन, नेपालका सबै किसानका साझा पीडा हुन् । उनले यिनै समस्याहरूका लागि स्थानीय निकायदेखि मन्त्रालयसम्म ध्यानाकर्षण पत्र बुझाउँदै आएका छन् ।
यदि सरकारले सही नीतिगत सहयोग गरेमा नेपालका युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न धेरै समय नलाग्ने उनको विश्वास छ । सवितुर खवरले तयार पारेको रिपोर्टिङ ।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
13018 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।