माघ २५ गते आइतबार ।
तनहुँ ।
अन्तरविद्यालय मिनी म्याराथनको उपाधि बिक र लामालाई
दमौली, माघ २५ गते ।
आदिकवि भानुभक्त क्याम्पस र आदिकवि भानुभक्त माध्यमिक विद्यालय, व्यास–१ विज्ञानचौरको संयुक्त आयोजनामा सम्पन्न तेस्रो अन्तरविद्यालय मिनी म्याराथन दौड प्रतियोगिताको उपाधि छात्रतर्फ कमल बिक र छात्रातर्फ मनकुमारी लामाले हात पार्नुभएको छ।
शनिबार बिहान क्याम्पस परिसरबाट सुरु भई व्यास–१४ स्थित धार्मिक पर्यटकीय स्थल छाब्दी बाराही मन्दिरसम्म तय गरिएको ६.२ किलोमिटरको दूरी महेन्द्रज्योति माध्यमिक विद्यालय, शिशाघाटका छात्र बिकले २१ मिनेट ४८ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल गर्नुभएको हो। प्रतियोगितामा बागलुङका बिमल नेपालीले २२ मिनेट ३६ सेकेन्डमा दूरी पार गरी दोस्रो र पर्वतका निश्चल रानाले २२ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गर्नुभयो।
यसैगरी, छात्रातर्फ पञ्चमुनी माध्यमिक विद्यालय, तनहुँकी मनकुमारी लामा प्रथम हुनुभयो। लक्ष्मी आधारभूत विद्यालय, पर्वतकी सिम्रन थापा दोस्रो र जनजागृति माध्यमिक विद्यालय, स्याङ्जाकी विमला माया मानन्धरले तेस्रो स्थान हासिल गर्नुभयो।
विजेता छात्र तथा छात्रा दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ र पर्वत गरी छ जिल्लाका ३७ विद्यालयका ४ सय १२ जना विद्यार्थी धावकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
यसअघि क्याम्पस परिसरमा आयोजित उद्घाटन समारोहमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रिबन काटेर म्याराथनको शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा नगर प्रमुख न्यौपानेले खेलकुदले स्वास्थ्य, पर्यटन र धार्मिक आस्थालाई एकैसाथ जोड्ने चर्चा गर्दै ‘शिक्षादेखि आस्थासम्म’ भन्ने नारालाई व्यवहारमा उतार्ने विद्यालयको यो प्रयास प्रशंसनीय रहेको बताउनुभयो।
पुरस्कार वितरण तथा समापन समारोहमा व्यास नगरपालिका वडा नं. १ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले मिनी म्याराथनको मुख्य उद्देश्य छाब्दी बाराही मन्दिरको प्रचार–प्रसार र धार्मिक पर्यटनको प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्नुभयो। क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विद्यार्थीहरूमा स्वास्थ्य, अनुशासन र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। कार्यक्रममा जनप्रतिनिधि, क्याम्पस सञ्चालक समिति, प्राध्यापक, शिक्षक तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रेस प्रमुख।